२० जेठ, काठमाडौं । विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् । गण्डकी प्रदेश सरकारले रायड सेयरिङ सम्बन्धित नियमावली स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलन अन्तर्गत जेठ १६ गतेदेखि गण्डकी प्रदेशभरी र जेठ १९ गतेदेखि देशव्यापी रुपमा सार्वजनिक सवारीसाधन बन्द गरिएको थियो ।
संघीय सरकारको जोडबलमा प्रदश सरकारलाई नियमावली फिर्ता लिन लगाएर सरकारले आन्दोलन फिर्ता गराएको हो । यससँगै यातायात व्यवसायीले पुनः एक पटक सरकारलाई झुकाउन सफल भएका छन् । यातायात व्यवसायी तथा मजदुरहरुका माग र मुद्दाका सन्दर्भमा जेठ १९ गते राति नेपाल सरकार र संघर्ष समिति सम्मिलित कार्यदलबीचको छलफलले ६ बुँदे निर्णय गरिसकेको थियो ।
निर्णयको नम्बर १ का विषय गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ नियमावली स्थगनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २० गते गण्डकी प्रदेश सरकारलाई गरेको सिफारिसलाई गण्डकी प्रदेश सरकारले ग्रहण गर्दै नियमावली स्थगन गर्ने निर्णय गरेको हो ।