२१ जेठ, काठमाडौं । सरकारले यातायात व्यवसायीको माग पुरा गर्दै राइड सेयरिङ सम्बन्धी नियमावली रोक्न लगाएसँगै आजबाट सार्वजनिक यातायात र ट्याक्सीले सेवा थालेका छन् । यसअघि व्यवसायीले १९ जेठबाट देशव्यापी यातायात ठप्प पारेका थिए ।
व्यवसायीले अत्यावश्यक सेवा ठप्प पर्दा समेत उनीहरुलाई सरकारले कारवाही गरेन, बरु उपहार दियो र भनेजस्तै सबै माग पुरा गरिदिएको छ । गण्डकी प्रदेश सरकारको अधिकारमाथि हस्तक्षेप गर्दै चिठी पठाएपछि प्रदेशले सो नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीको दादागिरी अगाडी सरकार झुक्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । २०७५ सालमै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यातायात सिण्डिकेट हटाएको बताएको थियो । तर, व्यवहारमा सडकमा यातायात व्यवसायीको दादागिरी अझ बढेको छ ।