काठमाडौं । चीनमा हालै देखिएको कोरोनाभाइरस नामक रोगले चीनमा ६ जनाको ज्यान लिएको छ ।
यो रोगलाई एक अज्ञात रोग मानिएको छ । चिनियाँ अधिकारीलेहरुका अनुसार चीनमा यस रोगले महामारीको रुप लिने सम्भावना बढेको छ ।
चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले मात्र यस रोगका लक्षण देखिन थालेका थिए ।
वुहानका नगरप्रमुख झाओ सिआनवाङका अनुसार उक्त रोगबाट प्रभावितको संख्या २९१ पुगेको छ । सोमबार र मंगलबार थप ८० जना बिरामी उपचारको खोजीमा अस्पताल पुगेका छन् ।
त्यसमध्ये २ जनाको मंगलबार निधन भएको हो । यो रोगका किटाणू चिनियाँ नागरिक हुँदै अन्य मुलुकमा समेत फैलन सक्ने भन्दै एशियाली मुलुकले विमानस्थलमा चिनियाँ नागरिकमाथि परिक्षण बढाएका छन ।
सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण यस रोगमा देखिनेछन् । तर, केही समय गाँजेपछि यस रोगले ज्यानै लिन थालेको हो ।
एजेन्सी