काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ ।
अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् । लुम्बिनी चिनी उद्योगका संचालक भने मनिष अग्रवाल हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।
उनका अनुसार महालक्ष्मी सुगर मिल्सबाट किसानले २१ करोड ४० लाख पाउनुपर्ने थियो । तर, उसले ११ करोड ५० लाखमात्र भुक्तानी दिएको छ ।
अन्नपूर्ण सुगर मिलले ४२ करोड वक्यौता राखेकोमा ३ करोड ९० लाख मात्र बुझायो । इन्दिराले ७४ लाख रूपैयाँ मात्र भुक्तानी गरेको छ।
श्री राम सुगर मिल्सबाट किसानलाई २६ करोड ७७ लाख रूपैयाँ पाउनुपर्नेछ ।
खाता रोक्का बाहेक उखु किसानको बक्यौता नतिर्ने उद्योगको सबै आर्थिक कारोबार समेत रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी सहसचिव भट्टराईले उल्लेख गरे ।
बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाँडसारी, महाकाली र लुम्बिनी चिनी उद्योग भने सम्पर्कर्म आएका छैनन् ।
अब गृह मन्त्रालयले ति उद्योगका संचालकलाई खोज्नेछ ।
हिमालयन, इन्दुशंकर इष्टर्न, रिलायान्स र र भागेश्वर चिनी मिलले भने उखु किसानको सबै पैसा तिरेका छन् । त्यसो त सरकारले उखु किसानलाई दिने कति अनुदानसमेत कृषकसम्म पुग्न सकेको छैन ।