तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला

३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्।

((Photo by Ammar Safarjalani/Xinhua)

अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली एवं अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

(Gideon Markowicz/JINI via Xinhua)

शनिवार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।

(Photo by Ammar Safarjalani/Xinhua)

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए अझ क्रूर इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ। इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।

(Photo by Jamal Awad/Xinhua)