काठमाडौं । नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद बनेका छन् । उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बिहीबार सम्पन्न निर्वाचनमा उनी कूल ३४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई हराए । उनी रेग्मीभन्दा १ हजार २ सय १८ मतभारले अगाडी रहे ।
कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालको नाममा १९८ मतभार रहेको थियो ।
श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा प्रतिनिधित्व गर्ने भएका छन् । गण्डकी प्रदेशबाटै महिला सदस्यमा नेकपाकी भगवती न्यौपाने विजयी भइन् ।
उनले कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरेकी हुन् ।
न्यौपानेले ३३ सय ६६ र गौचनले २३ सय ४० मतभार पाएका हुन् । राष्ट्रिय सभामा रिक्त रहेको १८ पदका लागि विहीबार निर्वाचन भएको हो ।
निर्वाचनमा १६ पदमा नेकपा र २ पदमा राजपा निर्वाचित भइसकेका छन् ।