च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी

१५ असार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरु घर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन् । च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडा मगर, ४५ वर्षीय एकबीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ । च्याउ खाएर बिरामी हुनेहरुमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुङ्गेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन् ।
यस्तै स्थानीय ६६ वर्षीया गनिसरा राना मगर, ४० वर्षीया मनमाया लुङ्गेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहा मगर, १८ वर्षीय राजन राना मगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन् ।