काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब उपभोक्तालाई धेरै बिजुली खपतमा प्रोत्साहित गर्ने भएको छ ।
स्वदेशमा क्रमशः बिजुलीको उत्पादन बढिरहेको सन्दर्भमा अब बिजुली खपत बढाउनु पर्ने बाध्यता प्राधिकरणसँग छ ।
यसबाहेक निर्यातको बाटो खोल्नेतर्फ समेत प्राधिकरणले काम गरिरहेको छ । प्राधिकरणका अनुसार बढी विद्युत् खपत बढाउन प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरिएको छ ।
अब थ्रि फेज र सामुदायिक खानेपानी आयोजनाको विद्युत महशुलदर समेत घट्ने छ ।
अहिले प्राधिकरणले ५, १५, ३० र ६० मएम्पियरमा ग्राहकलाई विभाजन गरेको छ । त्यसमा ७ वटा स्ल्याब राखी प्राधिकरणले महशुल उठाइरहेको छ ।
अहिलेको प्रावधान अनुसार जति बढी विजुली खपत गर्यो त्यति नै दर बढ्दै जान्छ ।
तर, आगामी दिनमा भने रणनीतिक रुपमा परिवर्तन गर्न लागिएको हो ।
आगामी दिनमा हिटर, एसी, इन्डक्सनजस्ता विद्यूतीय उपकरणको प्रयोग गरी विद्यूत खपत बढाउन सकिने विश्वास प्राधिकरणको रहेको छ ।
आन्तरिक उत्पादनका रुपमा विद्यूतको खपत बढाउन सके त्यसले अनाधिकृत रुपमा विदेश जाने रकम स्वदेशमै बच्ने र देशको उत्पादकत्व बढ्नेछ ।
प्राधिकरणका अनुसार अब ५ एम्पिएर अन्तर्गत लाइन राख्नेले १० युनिटसम्म विद्युत उपयोग गर्दा महिनामा ३० रुपैयाँमात्र शुल्क राखे पुग्छ ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अनुसार १० युनिटसम्म खपत गर्ने ग्राहकसँग भने महशुलमा ‘इनर्जी चार्ज’ लिइने छैन ।
कम विद्यूत खपत गर्ने ग्राहकको संख्या अधिक रहेको छ । निकट भविश्वमा उत्पादन बढ्ने तर त्यस अनुसार खपत हुन नसकेपछि प्राधिकरण खपत बढाउने योजनामा जुटेको हो ।