सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो ।
भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो ।
मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासनले वीरेन्द्रनगरदेखि पूर्वको ईत्राम खोला, पश्चिममा बांगेसीमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको हो ।
वीरेन्द्रनगरको मुख्य सडकस्थित गौतम चोकमा बिहान सवा ८ बजे भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दूर्घटनामा मोटरसाइकल चालक केशर सिंहको ज्यान गएको हो ।
दुर्घटनापछि सुरु भएको आन्दोलनका कारण दिनभर वीरेन्द्रनगर बजार तनवग्रस्त भएको थियो । बजारभित्र सबै पसल बन्द भएका छन् ।
सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । आन्दोलनका दौरान आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेका थिए ।
त्यसपछि प्रहरीले गोली नै चलाउनु परेको थियो । गोली लागेर ८ जना घाइते छन् ।