काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हराइरहेका ७ जनाको खोजी कार्य तत्कालका लागि बन्द भएको छ ।
हरेक दिन हेलिकोप्टर लगेर एक सातासम्म खोज्दासमेत उनीहरुको अत्तोपत्तो नलागेपछि खोजी कार्य तत्कालका लागि बन्द गरिएको हो ।
नेपाली सेनाको नेतृत्वमा खोजी कार्य गरिएको थियो । ३ माघमा आएको भारी हिमपातपछि उनीहरु हिमपहिरोमा परेका थिए ।
तर, त्यसपछि भने उनीहरुबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अनुसार अब तत्काल उनीहरुको खोजी कार्य सम्भव नभएपछि रोकिएको हो ।
हिउँ पूर्ण रुपमा नपग्लीसम्म खोजी सम्भव नहुने भएको हो । घटनामा ७ जना पदयात्री हराइरहेका छन् ।
त्यसमध्ये ४ जना कोरियाली र ३ जना नेपाली रहेका छन् । उनीहरुको दूर्घटनापछि अन्नपूर्ण पदयात्रा अवरुद्ध भएको छ ।
यसले भ्रमण वर्षको मुखमै शाहसिक गतिविधि प्रभावित भएका छन् ।