६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुने मानिसको सङ्ख्या पुष्टि गरेका हुन्।
अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना हुँदा उक्त विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको त्यहाँका एक विद्यार्थीले बीबीसी बाङ्ग्लालाई बताएका छन्।
हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको ठानिन्छ। विद्यालयको ढोकाबाहिर धेरै अभिभावकहरू उभिएका थिए, विद्यार्थीहरू पनि बाहिर निस्किँदै थिए । सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले बताए। घाइतेहरूलाई भेट्न उनी अस्पताल गएका थिए।
वायुसेनाले एक विज्ञप्तिमार्फत दुर्घटनामा परेको एफ ७ जेटले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी सामना गरेको बताएको छ। ज्यान गुमाउनेमा विमानका पाइलट समेत रहेको वायुसेनाले जनाएको छ। अधिकारीहरूका अनुसार विमानका पाइलटले मानिसहरूको घनत्व कम भएको ठाउँमा विमान लैजान खोजे पनि समयमै त्यसो गर्न सकेनन्।