काठमाडौं । पर्वतमा नेपालका सबैभन्दा अग्लो र संसारकै दोस्रो अग्लो बन्जीस्पट तयार भएको छ ।
पर्वतको सदरमुकाम कुस्माबजार नजिक कालीगण्डकी नदीमाथि विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण गरिएको हो ।
बिहीबार श्रीपञ्चमीको दिन पारी यो शाहसिक पर्यटकीय प्रडक्टको परीक्षण भएको हो ।
पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकास्थित बलेवा जोड्ने गरी कालीगण्डकीमाथि पुल बनाइएको छ ।
सोही पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्प बनाइएको छ ।
द क्लिफ नेपाल प्रालिले बज्जीजम्प संचालनमा ल्याँउदैछ । यसअघि यहाँ ड्रमलाई छाडेर बन्जीको परीक्षण गरिएको थियो ।
तर, बिहीबार भने बञ्जीका सञ्चालक राजु कार्की आफैले बञ्जीमा हाम फालेका हुन् । कार्की भोटेकोशी बञ्जी जम्पमा काम गरेर अनुभवी बोकेका प्राविधिक पनि हुन् ।
अग्लो स्थान र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा रोमान्चक अनुभव भएको बताए ।
उनका अनुसार व्यावसायिक रुपमा बञ्जीजम्प आगामी नयाँ वर्षबाट शुरु हुने भएको छ ।
मकाउमा दुई वटा घरका बीचमा गरिने बञ्जीलाई विश्वकै अग्लो कृतिम बन्जी जम्प मानिएको छ ।
नेपालको प्राकृतिक बन्जीमध्ये सबैभन्दा अग्लो बन्जी जम्प हो । यहाँ कालीगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोङ्गगे पुलमा बन्जी निर्माण भएको हो ।
यो पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल पनि हो ।
यहाँ सबैभन्दा अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग (स्विङ्ग), विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) सञ्चालन गरिने भएको छ ।
यसबाहेक कालीगण्डकी पारी बलेवामा सुविधा सम्पन्न रिर्सोट समेत बनिरहेको छ ।