१८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बी सार्न उक्साएका पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ । कुनै समय उहाँलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो । सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ५९ वर्षीय मेदवेदेवले आफ्नो एकल कार्यकालमा युरोप र संयुक्त राज्य अमेरिकासँग ‘मैत्रीपूर्ण’ सम्बन्ध राख्न चाहेका देखिन्थ्यो तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई उक्त पद हस्तान्तरण गरेपछि उनी ओझेलमा परेका थिए ।
सन् २०१२ मा राष्ट्रपतिबाट प्रधानमन्त्री बनाइएका उहाँलाई सन् २०२० मा रुसको सुरक्षा परिषद्को उपप्रमुख बनाइएको थियो । मस्कोले युक्रेन आक्रमण सुरु गरेलगत्तै मेदभेदेवले सामाजिक सञ्जालमा कट्टरपन्थी विचार राख्न थालेका थिए । द्वन्द्व सुरु भएदेखि नै सार्वजनिक वक्तव्यहरूमा उनले पश्चिमाहरूलाई ‘हरामी र पतित’ को रूपमा वर्णन गरेका थिए । उनले युद्ध सुरूभएपछि ‘युक्रेन, निःसन्देह, रूस हो’ भनेका थिए । उनले रूसका शत्रुविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको भनी युरोपलाई आतङ्कित पार्ने काम पनि गरेका थिए । गत जुनमहिनामा अमेरिकाले मस्कोसमर्थित इरानको आणविक केन्द्रहरुमा हवाई आक्रमण गरेपछि मेदभेदेवले तेहरानलाई आणविक हतियार उपलब्ध गराउन ‘धेरै देश’ इच्छुक रहेको बताए ।
मेदभेदेवले बिहीबार टेलिग्रामपोस्टमा मस्कोको सेमी अटोमेटिक ‘डेड ह्यान्ड’ आणविक हतियार नियन्त्रण प्रणालीलाई सङ्केत गर्दै ट्रम्पको आलोचना गरेका थए ।
मेदभेदेवका आलोचकहरूले उनको पोस्टलाई रुसको भीडभाड भएको कुलीन वृत्तमा राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयासको रूपमा अथ्र्याएका थिए तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको बताए । “रूसी नेताको अत्यधिक उत्तेजक भनाइका कारण मैले दुई आणविक ‘पनडुब्बी’हरूलाई उपयुक्त क्षेत्रमा तैनाथ गर्न आदेश दिएको छु”, ट्रम्पले शुक्रबार भने, “यी मूर्खतापूर्ण र भड्काउ भनाइहरू यस कदमका लागि जिम्मेवार छन्।”