काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपालीहरु सुरक्षित रहेको बताएको छ ।
चीनमा रहेका नेपालीका सम्बन्धमा विभिन्न गुनासो बढ्दै गएपछि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गरेको छ ।
दूतावासका अनुसार नेपालीको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीनले गरेको छ ।
त्यसकारण नेपालीहरु सुरक्षित रहेको सम्न्बधमा आश्वस्त रहन दूतावासले आग्रह गरेको छ ।
‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ,’ चिनियाँ दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
चीनको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ नेपाली विद्यार्थी रहेको र उनीहरु उद्दारको पर्खाइमा रहेका छन् ।
महामारी नियन्त्रण र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको समेत दूतावासले उल्लेख गरेको छ ।
‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ,’ विज्ञप्तीमा भनिएको छ ।
नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ ।