जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै विषयमा विस्तृत छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

उनले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका संवादहरूलाई ‘गम्भीर र फलदायी’ भएको उल्लेख गर्दै, पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिए । यो भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन दिनअघि सम्पन्न वार्तापछि तय गरिएको हो । अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्धविराम घोषणा वा ठोस सहमति भएको छैन ।

राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका सबै चरणमा सहभागी गराउन आग्रह गर्दै, आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ताका लागि पूर्णतः तयार रहेको दोहो¥याए । “महत्वपूर्ण विषयहरू नेताहरूको तहमा सिधा छलफल गर्न आवश्यक छ,” उनले भने, “त्रिपक्षीय वार्ताको ढाँचा प्रभावकारी र उपयुक्त हुनेछ ।” उक्त उच्चस्तरीय भेटवार्ताबाट युक्रेन युद्ध अन्त्यका प्रयासहरूलाई गति मिल्ने र अन्तर्राष्ट्रिय शान्ति पहलमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।