१ भदौ, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियान अर्मेनिया र बेलारुसको दुईदिने भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इरानका राष्ट्रपतिका राजनीतिक सल्लाहकार मेहदी सानाईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त भ्रमणको घोषणा गरेका छन् । सानाईले अर्मेनिया र बेलारुससँग विशेष गरी व्यापारिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुधार गर्ने र सहयोगका दस्तावेजमा हस्ताक्षर गर्ने विषय भ्रमणका क्रममा राष्ट्रपतिको कार्यसूचीमा रहने बताए । उनले भ्रमण जुनको अन्त्यमा हुने तय गरिएको तर राष्ट्रपतिको व्यस्थताका कारण स्थगित गरिएको जानकारी दिए ।
सन् १९८८ देखि नागोर्नो–काराबाख को पहाडी क्षेत्रमा विवाद रहँदै आएको अर्मेनिया र अजरबैजानबीच अगष्ट ८ मा वासिङ्टनमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पेजेस्कियानको अर्मेनिया भ्रमण हुन लागेको हो । शान्ति सम्झौतामा दक्षिणी अर्मेनियामा ट्रान्जिट करिडोर निर्माण गर्ने सम्झौता समावेश गरिएको छ । उक्त परियोजनाको विशेष विकास अधिकार संयुक्त राज्य अमेरिकालाई प्रदान गरिएको छ। इरानले यस क्षेत्रमा अन्तरक्षेत्रीय खेलाडीहरूको उपस्थितिको बारम्बार विरोध गर्दै आएको छ र यस क्षेत्रको भूराजनीति र ऐतिहासिक सीमाहरूमा कुनै पनि परिवर्तन नगर्न चेतावनी दिएको छ।