एजेन्सी
२ भदौ, कराँची । हालै पर्वतारोहणका क्रममा विदेशी पर्वतारोहीहरूको मृत्यु भए पनि पाकिस्तानले उत्तरका पहाडहरूमा पर्वतारोहण अभियानमा कुनै प्रतिबन्ध लगाउने वा चेतावनी जारी गर्ने योजना नराखेको सरकारी अधिकारीहरूले बताएका छन् । गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्ला फाराकले भने, “पर्वतारोहीहरूलाई कठोर मौसम र सम्भावित जोखिमबारे पूर्ण जानकारी हुन्छ । त्यसका बाबजुद, उनीहरूले स्वेच्छाले यी चुनौती स्वीकार गरेर विश्वका अग्ला शिखरहरूमा हात हाल्छन् ।” गत मङ्गलबार ३७ वर्षीया चिनियाँ पर्वतारोही गुआन जिङ विश्वको दोस्रो अग्लो शिखर के–२ मा चट्टान खस्दा ज्यान गुमाएकी थिइन् । उनको शव शनिबार उद्धार टोलीले बरामद गरेको र हाल स्कार्दूको कम्बाइन्ड मिलिटरी अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।
यसअघि जर्मन पर्वतारोही तथा ओलम्पिक विजेता लौरा डाहलमेयरको पनि काराकोरम श्रृङ्खलामा मृत्यु भएको थियो । फाराकले पाकिस्तान सरकारले पर्वतारोहण अभियानका लागि आवश्यक पूर्वाधार, उद्धार सुविधा, सुरक्षा र सहज वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको बताए । “यी अभियानहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड हुन्, जसले प्रत्यक्ष रूपमा लाखौँ डलरको आम्दानी ल्याउँछ । हजारौँ स्थानीयले मेदेखि सेप्टेम्बरसम्म यिनै अभियानबाट आम्दानी गर्छन्”, उनले भने । हरेक वर्ष सयौँ पर्वतारोहीले उत्तरी पाकिस्तानका शिखरहरूमा आरोहण गर्ने प्रयास गर्छन् । तर हिमस्खलन, आकस्मिक मौसम र भूस्खलनका कारण दुर्घटनाहरू सामान्य रूपमा हुने गरेका छन् । यस वर्ष मनसुन असामान्य रूपमा बढी भएकाले आकस्मिक बाढी र पहिरोले चुनौती थपेको छ ।