विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताइन् । “

यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ”, मन्त्री डा राणाले उल्लेख गरेकी छिन् । यसैगरी गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ ९एसिडी० सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएको बताएकी छिन् ।

इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरेकी छिन् ।


उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गरेकी थिइन् । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिइन् ।

यसैगरी, इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा राणाले आग्रह गरेकी थिइन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।