अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग

६ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले उक्त सामग्री बुझेका छन् । सहयोग सामग्रीमा ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा तथा औषधि उपचार किटजस्ता सामग्रीहरू रहेका दूतावासले आज जनाएको छ ।

यस किसिमको सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पु¥याउने विश्वास लिइएको छ । यसले नेपाल मात्र नभई अमेरिका पनि थप सुरक्षित हुने अमेरिकी दूतावासले जनाएको छ ।