विदेशको मोह त्यागेर भैँसीपालनमा

१६ भदौ, कैलाली । गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गरेका छन् । उनी पहिला नेपाली सेनामा कार्यरत थिए । अवकासपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गरे । हाल उनी स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन् । साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गरेका हुन् ।

उनले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिएका छन् । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताए । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उनले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताए । साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताए ।


विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गरेका छन् । “नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने ।