जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

१७ भदौ, काठमाडौं । न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को बैठकबाट सिफारिस हुने जिल्ला न्यायाधीशमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल रहेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए ।

त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतका उपरजिस्ट्रार अनुपमा पन्त र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा रहेका छन् । जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छ । तीमध्ये २१ जना न्याय सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् ।