काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो ।
तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण डुब्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले घर,जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविरुद्ध बुधबार मुद्दा दायर गरेको छ ।
त्यससँगै यो जग्गा वा घर धितो राखेर लिएको ऋणसमेत अब अवैध भएको छ । यसले बैंकको जोखिम बढाएको छ ।
अख्तियार स्रोतका अनुसार बैंकहरुले करीव साढे २ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । यसले एक साथ बैंकहरुको ठूलो रकम घाटा लाग्ने अवस्था सिर्जना गरेको छ ।
अब बैंकहरुले जग्गाधनीलाई ऋण चुक्ताका लागि आग्रह गर्न सक्नेछन् । तर धितो राखेको जग्गा सरकारी भएका कारण त्यो धितो किनबेच हुने छैन । त्यसकारण अर्कोतर्फ ऋणको कसुर समेत उनीहरुमाथि थपिने भएको छ ।