काठमाडौं । नेपालमा ट्राफिक नियमबारे चालक कति उदासिन छन् भन्ने एक उदाहरण ट्राफिक प्रहरीको तथ्याकले देखाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० हजार ४ सय ३३ जना नियम उल्लंघनको कसुरमा कारवाहीमा परेका छन् ।
यो संख्या साउनयताको मात्र हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार जथाभावी पार्किङ, सवारी मोड्ने, ढोका खुल्लै राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्नेजस्ता कारवाहीमा यी चालक परेका हुन् ।
पछिल्लो समय प्रहरीले १ पुसबाट ट्राफिक उज्यालो कार्यक्रम संचालन गरेको छ ।
यस कार्यक्रमका दौरान ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतनालगायत विषयमा जानकारी गराइएको छ ।
जसमा ४५ हजार १ सय ४७ जना पैदलयात्री रहेका छन् ।
१ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकका लागि सचेतना चलाइएको थियो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका काम समेत निरन्तर भइरहेको उनले बताए ।
उनका अनुसार यसको पहिलो पाइला ट्राफिक लाइट हो । अहिले उपत्यकाका १७ स्थानमा लाइट बल्न थालेको छ ।