नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

गन्तव्यतर्फ जाँदै सवारीसाधन मलेखु (धादिङ), १० असोजः दसैँ नजिकिएसँगै काठमाडौँबाट पृथ्वीराजमार्गअन्तर्गत धादिङ हुँदै पूर्व–पश्चिमका जिल्लातर्फ जाँदै गरेका सवारीसाधन । धादिङको जवाङखोला र चितवनको तुइनखोलाको पहिरोले एक सातादेखि असहज बनेको पृथ्वीराजमार्गको यात्रा आजदेखि सहज बनेको छ । तस्बिरः शङ्कर श्रेष्ठ÷रासस

१० असोज, चितवन । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ ।

उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए ।

“सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ । यसअघि नाम्सीमा दुई दिनअघि पहिरो खस्दा अड्किएका ढुङ्गा पनि खसेकाले पहिरोको तत्काल पहिरोको जोखिम देखिएको छैन । हाल सडक सुरक्षित देखिन्छ”, लामिछानेले भने, यस सडकखण्डमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ ।

तत्काल पहिरोको जोखिम नदेखिए पनि पूर्ण भर गर्नसक्ने अवस्था नरहेकाले सावधानीपूर्वक आवतजावत गर्न हाम्रो आग्रह छ ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको बताए । निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उनले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको जानकारी दिए ।