आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

काठमाडौँबाट गृहजिल्ला फर्कन दसैँको फूलपाती दिन सोमबार पानी परेपछी छाता ओढेर गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चढ्न आएका यात्रु र आफ्नो गन्तव्य जाने क्रममा रहेको सवारीसाधन । तस्बिर : हरिराम भेटुवाल / रासस

१३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी , बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।