रासस\एएफपी
१३ असोज, मिचिगन । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन् । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए । आपत्कालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको थियो र पार्किङ क्षेत्रमै आक्रमणकारीलाई मारेको ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीले पत्रकार सम्मेलनमा बताए ।
रेनीका अनुसार सुरुमा दुई मृतक पुष्टि भए पनि, पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ । उनले आठ जना घाइते भएको पुष्टि गरे । जसमा एकजनाको अवस्था गम्भीर छ । प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई सो क्षेत्रमै हुर्किएको र सैन्य सेवामा संलग्न भइसकेको व्यक्ति बताएका छन् । आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानी बनेको छ । तस्बिरहरूमा आक्रमणकारीले ट्रक भवनतर्फ चलाएको देखिन्छ, जसको पछाडि दुईवटा अमेरिकी झण्डा झुण्ड्याइएका थिए ।
एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले पत्रकार सम्मेलनमा भने, “एफबिआईले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यसलाई हामी लक्षित हिंसाको कार्यका रूपमा हेरेका छौँ ।” रेनीका अनुसार आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित थिए, जसले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गरेको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईहरूमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेखे, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ ।”
मोर्मोन चर्चले पनि विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ । “पूजास्थलहरू शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन् । हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सन् १८३० मा स्थापित मोर्मोन चर्च विश्वभर लाखौँ अनुयायीहरूसहित पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ । यसका अनुयायीहरूले आफूलाई इसाई समुदायको हिस्सा माने पनि, यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ ।
संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ । पछिल्ला हप्ताहरूमा युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्च तथा विद्यालयमा भएको सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएको छ । पछिल्लो आक्रमणसँगै राजनीतिक विभाजन झन् गहिरो बनेको छ । राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई लक्षित गर्दै ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाएका छन् । त्यसविरुद्ध कडा अभियान सुरु गरेका छन् ।