काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् ।
चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो ।
अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको हो ।
चालु बर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत) रहने गरी नयाँ संशोधन आएको छ ।
पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने भएको छ ।
वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजन बजेटको ९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान कायम गरिएको छ ।
राजश्व लक्ष्य ५५ अर्ब रुपैयाँ घटाएर ९५.६ प्रतिशत कायम गरिएको । यस वर्ष ११ खर्ब राजस्व संकलनको लक्ष्य रहेको छ ।
चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड स्रोत व्यवस्थापन हुने भएको छ ।
वैदेशिक अनुदानबाट ४३ अर्ब ५५ करोड ४६ लाख आउने भएको छ ।
वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाण्डौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नती, अधुरा आयोजना पुरा गर्दा धेरै बजेट खर्च हुने मन्त्रालयको भनाई छ ।
सडक आयोजनाहरुमा समेत बजेटको ठूलो हिस्सा खर्च हुने भएको छ ।
बजेटका अधिकांश सूचकांक सकारात्मक भएको भन्दै उनले आर्थिक वृद्धिदर भने कायम नै राखेका छन् । यस वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।