इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

(Photo by Mahmoud Zaki/Xinhua)

जेनेभा, २२ असोज (रासस-एएफपी)
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए ।


पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन।”
उनले अगाडी थपे, “कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको छ।” उनले भने, “गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ । यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।

युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन्। पाइरेसले भने, “हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरूलाई सारेर भएपनि सम्भव भएसम्म सुविधा दिएका छौँ । गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन । हामीले इन्क्युबेटरहरू सार्न सकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ।”