कायरो, २६ असोज (रासस\एएफपी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सोमबार शार्म अल–शेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने भएका छन् । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित विश्वभरका नेताहरूले पनि भाग लिने कार्यक्रम छ । सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले ‘२० भन्दा बढी देशका नेताहरूलाई’ एकसाथ ल्याउनेछ । सम्मेलनको उद्देश्य गाजा पट्टीमा युद्धको अन्त्य गर्नु, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापित गर्नु र क्षेत्रीय सुरक्षा र स्थिरताको नयाँ युगको सुरुआत गर्नु रहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सहभागी हुने घोषणा गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन पनि सम्मेलनमा उपस्थित हुनेछन् ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रतिनिधित्व गर्नेछन् । एक प्रवक्ताका अनुसार यो योजनाले न्यायपूर्ण र दिगो शान्ति निर्माण गर्ने वास्तविक अवसर प्रदान गर्दछ र युरोपेली सङ्घ (इयु) यी प्रयासहरूलाई समर्थन गर्न र यसको कार्यान्वयनमा योगदान दिन पूर्ण रूपमा प्रतिबद्ध छ ।
राज्य मिडियाका अनुसार जोर्डनका राजा अब्दुल्लाह द्वितीय पनि सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भाग लिने वा नलिने भन्नेबारे स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । हमासले सम्मेलनमा भाग नलिने स्पष्ट पारेको छ । हमासको राजनीतिक ब्युरोका सदस्य होसाम बद्रानले एएफपीलाई दिएको अन्तर्वार्तामा प्यालेस्टिनी लडाकू समूह संलग्न नहुने र गाजामा अघिल्लो वार्ताका क्रममा मुख्य रूपमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत काम भएको बताए ।