काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ ।

सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् ।

नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो ।

तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र त्यसलाई पुनस्र्थापना पनि गर्ने गरी समझदारी भएको प्राधिकरण स्रोतले जनाएको छ ।

प्राधिकरणलाई सुरुमा अधिकतम ७ किलोमिटरमा मात्रै तार भुमिगत गर्ने छ ।

यसको जिम्मा भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडले पाएको छ ।

कम्पनीसँग ठेक्का सम्झौता समेत भइसकेको प्राधिकरणको भनाइ छ ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने भएको छ ।

आगामी ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने प्राधिकरणको योजना छ ।

प्रारम्भमा महाराजगञ्ज क्षेत्र र सिहंदरबारबाट धोबीखोला जाने फिडरको लाइन भूमिगत गर्न तयारी छ ।

त्यसपछि काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रका तार भुमिगत हुनेछन् ।

यसबाहेक वालुवाटार, गंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको छ ।