विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

file

१४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् । बालेन भने उपस्थित भएनन् ।


छलफलमा सहभागी प्रभावित स्थानीयले २० वर्षदेखि संघर्ष गर्दा पनि आफूहरूलाई न्याय नदिइएको भन्दै आक्रोश पोखे। आफूहरूलाई संघीय सरकार र काठमाडौं महानगरपालिको पटकपटक झुक्याएको, भुलाएको भन्दै समस्या समाधान गर्न सक्ने आधिकारिक व्यक्तिहरू सम्मिलित वार्ताको माग गरे।

‘यो छलफलले समाधान दिन सक्दैन। हामीसँग यसअघि १८ बुँदे सहमति गरेका काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यकारी अधिकृतसहित संघीय सरकारका मन्त्रीहरूसँग हामी वार्ता चाहिरहेका छौं,’ छलफलमा सहभागी धुनिबेसी २ का स्थानीय सुवास पाठकले भने, ‘समाधान दिन नसक्ने यस्तो छलफलको अर्थ छैन।’

बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले काठमाडौं महानगरपालिकालाई सोधेमा सहरी विकास मन्त्रालयलाई देखाउने, मन्त्रालयलाई सोधेमा महानगरलाई दोषारोपण गर्ने काम भइरहेको बताए। उनले पटकपटक अल्झाउने गर्दा जनता आक्रोशित भएको बताए। प्रभावित क्षेत्रका नागरिकले दुई दिन फोहोर रोक्दा काठमाडौं, भक्तपुर र बनेपासम्मका मानिसको टाउको दुख्ने, हामी २० वर्षदेखि फोहोरमा बस्दा हाम्रो समस्या कसले देख्ने ? भन्दै उनले प्रश्न गरे।

साढे दुई घण्टासम्म चलेको छलफलका अन्त्यमा सहरी विकास मन्त्रालयका सचिव सिग्देलले समस्या समाधानका लागि मन्त्रालय र मन्त्री (कुलमान घिसिङ) गम्भीर रहेको बताए। प्रभावित क्षेत्रका जनप्रतिनिधिले पत्र पठाएर मन्त्रालयलाई समस्या समाधानको पहल गरिदिन आग्रह गरेकाले आफूहरूले छलफलको आयोजना गरेको भन्दै उनले लगातारका छलफलबाट समाधान निस्कने विश्वास व्यक्त गरे।

यसअघि पीडित स्थानीयले गत असोज २६ गते भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष समस्या राखेका थिए। ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले समस्या समाधानको पहल गरिदिन मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।