सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो ।

रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो ।

तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन ।

काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको ठक्करबाट सडक पेटीमा सुतेका एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठको टिपरको ठक्करबाट ज्यान गएको हो । उनी सुस्त मनस्थितिका थिए ।

प्रायजसो उनी सडक पेटिमै सुत्ने गर्थे । प्रहरीका अनुसार राती १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले ठक्कर दिएपछि उनलाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको थियो ।

लगत्तै प्रहरीले मृत घोषणा गरे । काठमाडौंमा टिपर मानिसहरुको ज्यान लिने सवारी साधनका रुपमा विख्यात भइसकेको छ ।