राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्कन सरकारको पत्राचार

काठमाडौँ, १७ कात्तिक । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले आज पत्र पठाउँदै उनीहरुलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।