१९ कात्तिक, काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ। बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पाँच घन्टाभन्दा बढी समय बयान लिइएको हो। बयान सकिएसँगै रविलाई ललितपुरको नख्खु कारागार फिर्ता पठाइएको छ । आयोगका सदस्यहरूले रविलाई सोध्न भनेर १९ वटा प्रश्न तयार पारेका थिए।
स्रोतका अनुसार १९ वटासम्म प्रश्न थिए। दिउँसो करिब २ बजेदेखि सुरू भएको थियो। राति ८ बजेतिर सकिएको समेत स्रोतले बताएको छ । बयान भदौ २४ गते नख्खु कारागारमा के भएको र कसरी बाहिर निस्किएको भन्ने विषयमा केन्द्रित रहेको थियो । उनलाई बयानका लागि बुधबार दिउँसो पौने २ बजेतिर कार्यालयमा लगिएको थियो। रविको बयान लिनुअघि जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की मंगलबार नख्खु कारागार पुगेका थिए।
आयोगले भदौ २४ गते नख्खुमा भएको घटनालाई लिएर नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटना केन्द्रित बयान समेत लिइसकेको छ। भदौ २४ गते जेलबाट निस्किँदा कारागारले आफूलाई पत्रसमेत दिएको रविले बताएका थिए। तर बयान क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र रविलाई आफूले नदिएको बताएका छन्। भदौ २४ गते नख्खु कारागारबाट सबै कैदीबन्दीहरू निस्किएका थिए। त्यहाँबाट निस्केपछि अन्यत्र पनि कारागारबाट कैदीबन्दीहरू भागेका थिए।