बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

पटना, भारत, २३ कात्तिक (रासस–एएनआई) । कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाएका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेर गर्न मिलेर काम गरेको आरोपसमेत लगाए । खेलाले भने, “हामीलाई हाम्रा कार्यकर्ताहरूबाट गुनासोहरू प्राप्त भएका छन् कि यो निर्वाचनमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूको नाम मतदाता सूचीबाट हटाइएको थियो।”

उनले अगाडी भने, “सम्पूर्ण राष्ट्रले के देखेको छ भने भारतीय निर्वाचन आयोग र भाजपाको मिलोमतोमा बिहारमा भएको विशेष गहन संशोधन (एसआईआर) निर्वाचनलाई प्रभावित पार्ने एउटा गलत अभ्यासबाहेक केही थिएन । उनीहरूले मत चोरे र हामी हरियाणामा सरकार बनाउन सकेनौँ।” यसअघि, राहुल गान्धीले शुक्रबार बिहार चुनावमा ‘भोट चोरी’ भएको आरोप लगाएका थिए । उनले चुनावी सूचीमा नक्कली मतदाताहरू समावेश गरिएको दाबी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले हरियाणा चुनावमा मतदाता जालसाजी गरेको आरोप लगाएका थिए । उनले भने, “बिहारका युवाहरूले यस पटक यस्तो हेरफेर गर्न दिने छैनन्।”

भागलपुरमा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुल गान्धीले भने, “हरियाणामा दुई करोड मतदाता छन् र मतदान सूचीमा २५ लाखभन्दा बढी मतदाताहरू नक्कली छन् । म तपाईंलाई सुनिश्चित गछर्स कि प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले मिलेर हरियाणा निर्वाचनमा मतदाता चोर्ने षड्यन्त्र गरेका छन्।”

उनले थपे, “हामीले प्रमाणसहित भनेका थियौँ उनीहरूले लोकसभा, महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढमा मतदाता चोरी गरेका थिए र अब उनीहरू बिहारको चुनाव जित्न पनि यही नीति अपनाइरहेका छन् । हामीलाई अन्तिम क्षणसम्म मतदाता सूची प्राप्त हुँदैन । बिहारको जेन–जीले यहाँ भोट चोरी हुन दिने छैन।”

नोभेम्बर ६ मा, १८ जिल्लामा फैलिएका १२१ सिटका लागि मतदान भएको थियो, जसमा ६४.५ प्रतिशत मतदाता मतदान भएको थियो। दोस्रो चरणको विधानसभा चुनाव नोभेम्बर ११ मा हुने तय भएको छ, जसको मतगणना नोभेम्बर १४ मा हुनेछ। दोस्रो चरणमा बिहारका २० जिल्लाका १२२ सिटमा मतदान हुनेछ, त्यसपछि, बिहारमा चुनाव सकिनेछ । दोस्रो चरणमा औरङ्गाबाद, जहानाबाद, गया, नवादा, जमुई, भागलपुर, पूर्णिया र अन्य जिल्लाहरूमा मतदान हुँदैछ।