बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनका विषयमा बार्गेनिंग गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरी समक्ष पत्राचार गरेको छ।

उनलाई लेखा समितिका सदस्य सांसदको चरित्र हत्या हुने गरी सार्वजनिक टीकाटिप्पणीमा उत्रिएको भन्दै समितिले कारवाहीका लागि पत्राचार गरेको हो।

यसअघि मिश्रले एक अनलाइनसँग कुराकानी गर्दै बाँस्कोटासँगको अडिओ वार्ता बाहिर नल्याएको भए लेखा समितिले जर्मन कम्पनीलाई ठेक्का दिनेबारे निर्देशन दिने तयारी गरिरहेको बताएका थिए ।

नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।

यस विषयमा समितिले बिहीबार बैठक राखेको थियो । सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरेर अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको हो ।

तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका छन् ।

सोही विषयलाई लिएर लेखा समितिले उनीविरुद्ध कारवाही गर्न पत्राचार गरेको हो ।

बिहीबारको बैठकमा नेकपा सांसद सूर्य पाठकले सञ्चार मन्त्रीसँगको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रले गरेको सार्वजनिक टिप्पणीमाथि पनि छानबिन गर्नुपर्ने उल्लेख गरे ।