एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जडान गरिएको प्याराफिट र फ्लडलाइट। प्याराफिट र फ्लडलाइट शहरी विकास मन्त्रालयको सहयोगमा जडान गरिएको हो।तस्बिरः विनोदसिंह विष्ट/रासस

काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् ।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।