कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

गोलबजार, ५ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकखण्डअन्तर्गत सिरहा–धनुषा जोड्ने क्षतिग्रस्त कमला पुलको निरीक्षण गरेका छन् । यो पुल ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । तराई–मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ साल जेठमा रु २४ करोड ९१ लाख ९भ्याटसहित०मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ साल मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको हुलाकी सडक आयोजना निर्देशनालय जनकपुरधामका कार्यालय प्रमुख इञ्जिनियर कृष्णकुमार महतोले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यो पुल समग्र मधेस क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले तीव्रगतिमा निर्माणकार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको पनि बताए । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

हालसम्म रु २० करोड ४३ लाख ९भ्याट०सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत रहेको छ । बाह्रवटा स्पान भएको पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ । व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो ।

पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ एक हजार ३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ । अनुगमन टोलीमा मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।