नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् ।
यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ ।
राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।
दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको हो ।
सरकार समर्थकले ‘जय श्रीराम’ नारा लगाएका थिए । त्यसको विरोधीसमेत प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच झडप भएको हो।
झडप नियन्त्रणका क्रममा प्रहरीको समेत ज्यान गएको हो । पसल, घर र सवारी साधनमा आगो लगाइएको छ।
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको हो । त्यसक्रममा एक जना व्यक्तिले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।
दिल्लीमा पछिल्ला दिनमा हिंसाका घटना बढेका छन् । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको हो ।