मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र शव फेला परेको थियो । घटनास्थलमा बरामद भएका कपडा हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान गर्दै जाँदा अधिकारीलाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।


पक्राउ परेका अधिकारीले बालिकालाई विभिन्न प्रलोभन देखाएर घरभन्दा चार दशमलव पाँच किलोमिटर पर रहेको उक्त जङ्गलमा लगेर हसियाँले घाँटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको सहप्रवक्ता भट्टले बताए । उक्त घटनाका सन्दर्भमा प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्तागरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ । बलात्कार प्रतिकार गर्दा बालिकाको हत्या गरेको आरोपितले स्वीकार समेत गरेका छन् ।