रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएर चितवन हुँदै काठमाडौं आए लगत्तै रास्वपा सभापति रवि लामिछाने भेटघाटमा सक्रिय भएका छन् । उनले जेनजी आन्दोलनका घाइते र शहीदका परिवारलाई भेटेका छन् । उनले शनिबार उपत्यकाका विभिन्न अस्पतालमा उपचारार्थ जेनजी घाइतेसँग भेट गरी अवस्थाबारे जानकारी लिए । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रहेका लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । सो क्रममा रविले सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको बताए । उनले जेनजी घाइतेहरूलाई आफू साथमा रहेको बताउँदै सपना पूरा गर्न लागिपर्ने पनि बताए ।

शहीद परिवारसँगको छलफलपछि पत्रकारसँग बोल्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए। सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको बताए । शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।