उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

In this undated photo provided Thursday, Dec. 25, 2025, by the North Korean government, its leader Kim Jong Un inspects a nuclear-powered submarine under construction at an undisclosed location in North Korea. Independent journalists were not given access to cover the event depicted in this image distributed by the North Korean government. The content of this image is as provided and cannot be independently verified. Korean language watermark on image as provided by source reads: "KCNA" which is the abbreviation for Korean Central News Agency. (Korean Central News Agency/Korea News Service via AP)

सियोल, ११ पुस (रासस–एपी) । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ । यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक–प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गरेका छन् । उनले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे । उत्तर कोरियाले यसलाई ‘रणनीतिक निर्देशित मिसाइल पनडुब्बी’ वा ‘रणनीतिक आणविक आक्रमण पनडुब्बी’ भन्दै भविष्यमा आणविक हतियारले सुसज्जित गर्ने योजना रहेको सङ्केत दिएको छ ।

निरीक्षणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दक्षिण कोरियाले आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई उत्तर कोरियाको सुरक्षा र समुद्री सार्वभौमिकतामाथिको ‘आक्रामक कार्य’ भने । उनका अनुसार यस्ता योजनाले उत्तर कोरियालाई आफ्नो नौसेना र आणविक प्रतिरोध क्षमता अझ सशक्त बनाउन बाध्य बनाएको छ ।

राज्य मिडियाले किमले कहिले शिपयार्ड भ्रमण गर्नुभएको हो भन्ने स्पष्ट नगरे पनि सार्वजनिक तस्बिरहरूमा उहाँले वरिष्ठ अधिकारीहरू र आफ्नी छोरीसँगै विशाल जहाजको निरीक्षण गरिरहेको देखिन्छ । मार्चपछि पहिलो पटक पनडुब्बीको स्पष्ट तस्बिर सार्वजनिक गरिएको हो ।

पनडुब्बी कहिले पूर्ण रूपमा तयार हुन्छ भन्ने खुल्न नसके पनि दक्षिण कोरियाका विज्ञहरूका अनुसार बाहिरी संरचना लगभग तयार देखिनु भनेको इन्जिन र सम्भावित रिएक्टर जस्ता मुख्य प्रणालीहरू भित्रै जडान भइसकेको सङ्केत हुन सक्छ । हानयाङ विश्वविद्यालयका पनडुब्बी विशेषज्ञ मुन केउन–सिकका अनुसार यो जहाज केही महिनाभित्र समुद्र परीक्षणमा जान सक्ने सम्भावना छ ।

आणविक–सञ्चालित पनडुब्बी किमले सन् २०२१ मा घोषणा गर्नुभएको दीर्घकालीन सैन्य लक्ष्यहरूमध्ये एक हो । यस सूचीमा ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक हतियार, जासुसी उपग्रह र बहुवारहेड मिसाइलहरू पनि समावेश थिए, जसमध्ये केहीमा उत्तर कोरियाले पहिले नै प्रगति गरिसकेको छ ।

यदि उत्तर कोरियाले लामो समयसम्म गोप्य रूपमा सञ्चालन गर्न सक्ने र पानीमुनिबाट मिसाइल प्रहार गर्न सक्षम पनडुब्बी तैनाथ गर्‍यो भने, यो क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौती हुने विज्ञहरूको भनाइ छ । यद्यपि, कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेको देशले यस्तो प्रविधि र स्रोत कसरी जुटायो भन्ने प्रश्न पनि उठिरहेको छ । केही विश्लेषकहरूले रुससँगको पछिल्लो सैन्य सहकार्यबाट उत्तर कोरियाले प्राविधिक सहयोग पाएको हुन सक्ने अनुमान गरेका छन् ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास अघि बढाएको छ । राष्ट्रपति ली जे म्युङले अमेरिकी समर्थनको माग गर्नुभएको छ भने राष्ट्रपति ट्रम्पले सैद्धान्तिक रूपमा प्रविधि साझेदारीका लागि खुलापन देखाएका छन् ।

उत्तर कोरियाले हालै नयाँ एन्टी–एयर मिसाइल परीक्षण गरेको र पूर्वी तटबाट थुप्रै मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । रुस–युक्रेन युद्धपछि उत्तर कोरियाले आफ्नो सैन्य र आणविक कार्यक्रम तीव्र बनाउँदै जाँदा कोरियाली प्रायद्वीपमा तनाव थप बढेको छ ।