असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत काठमाडौँमा बुधबार आयोजित ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उनले भने ।

महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताए । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताए ।