काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ ।
गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो ।
दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।
उनीहरुले नेपाल आउनु परेमा अब सोही मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा पुगेर सम्पर्क राख्नु पर्नेछ ।
नेपालले यसअघि पनि कतिपय मुलुकलाई अनअराइभल भिषा दिने गरेको थिएन ।
खासगरी आतंकबादी क्रियाकलाप भइरहेका मुलुकका नागरिकले नेपालमा अनअराइभल भिषा पाउने थिएनन् ।
पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको हो ।
अध्यागमन विभागले ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिषा दिने गरेको छ ।
नेपालले अनअराइभल भिषा मात्र पर्यटक भिषाका लागि दिने गरेको छ ।