काठमाडौं । नेपालमा चीनबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । कोरोनाको प्रकोप फैलिएसँगै चीनबाट पर्यटक आवागमन करीव ठप्प प्राय छ ।
फेब्रुअरी महिनामा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
सन् २०१९ को फेब्रुअरीमा चीनबाट करीव १४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए ।
यो वर्ष आएका चिनियाँमध्ये पनि अधिकांश कूटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा विभिन्न आयोजनामा काम गर्ने कर्मचारी रहेको बताइएको छ । पर्यटक आगमन भने रोकिएको छ ।
चीनबाट साविकमा सातामा ६५ उडान हुने गरेकोमा अहिले खुम्चिएर सातामा ४ उडानमा सिमित भएको छ ।
चिनियाँ पर्यटकको आगमन घटेपछि समग्र पर्यटक आगमन समेत प्रभावित भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को दोस्रो महिनामा ०.९९ प्रतिशतले पर्यटक आगमन कम भएको हो ।
सन् २०१९ को दोस्रो महिनामा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरी २०२० मा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । फेब्रुअरीमा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् ।
गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् ।
स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
समग्रमा पर्यटक आगमन खस्किएपनि म्यानमार, श्रीलंका र थाइल्याण्डबाट आउने पर्यटकमा भने ठूलो वृद्धि पाइएको छ ।
यी बौद्धमार्गी मुलुक हुन् । म्यानमार, श्रीलंका र थाइल्याण्डबाट अघिल्लो वर्षको यसै महिनाको तुलनामा क्रमशः ४५९५.६, ११२६.८ र ५६५.५ प्रतिशत बढी पर्यटक भित्रिएका छन् ।