चीनको भ्रमणमा दक्षिण कोरियाली राष्ट्रपति

(260106) -- BEIJING, Jan. 6, 2026 (Xinhua) -- Zhao Leji, chairman of the Standing Committee of the National People's Congress, meets with President of the Republic of Korea (ROK) Lee Jae Myung in Beijing, capital of China, Jan. 6, 2026. (Xinhua/Liu Weibing)

बेइजिङ, २२ पुस (रासस\एएफपी) । चीनका शीर्ष सांसदले मङ्गलबार बेइजिङमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट गर्दै दुई देशबीच स्थिर सम्बन्ध र गहिरो सहयोगको अपेक्षा व्यक्त गरेको सरकारी मिडियाले जनाएको छ । राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुन् ।

उनले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । सोमबार राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । भेटमा दुवै नेताले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको महत्त्वमा सहमति जनाउँदै उत्तर कोरियासँग संवाद पुनः सुरु गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

मङ्गलबारको भेटमा चीनका तेस्रो उच्च पदस्थ अधिकारी तथा नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीले चीन दक्षिण कोरियासँग ‘असल–छिमेकी मित्रता सुदृढ गर्न’ र ‘पारस्परिक फाइदामा आधारित सहयोगलाई अझ गहिरो बनाउन’ इच्छुक रहेको बताए । उनले दुई देशबीच सम्बन्धको ‘स्थिर र दीर्घकालीन विकास’ र निरन्तर संवाद तथा सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति लीको चीन भ्रमण भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य कारबाहीपछि भएको हो । उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गरी न्युयोर्कमा लागुऔषध तस्करीसम्बन्धी आरोप सामना गर्न लगिएको थियो, जसको बेइजिङ र प्योङयाङले निन्दा गरेका छन् । यसैक्रममा राष्ट्रपति लीले मङ्गलबार चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि भेट गरेका हुन् ।

सो अवसरमा उहाँले चीन–दक्षिण कोरिया सम्बन्ध सुधारलाई ‘समयको अपरिवर्तनीय प्रवृत्ति’ का रूपमा वर्णन गरे । आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राख्नुभएका दक्षिण कोरियाका राष्ट्रपति ली बुधबार चीनको प्रमुख आर्थिक केन्द्र साङ्घाईको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।