‘कमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार हुनुपर्छ’

नेपाली कम्युनिष्ट पार्टीका संयाेजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाडौँस्थित पेरिसडाँडामा मङ्गलबार पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई पार्टीको विधान अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई थप एकताबद्ध, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नयाँ सङ्कल्पसहित पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए । संयोजक दाहालले सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा आफ्ना कमजोरीको मूल्याङ्कन गर्न जरुरी रहेकामा जोड दिए ।


उनले भने, “सबै ठिकै चलिरहेको छ भन्नेगरी परम्परागत तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, यसलाई थप एकताबद्ध, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नितान्त नयाँ सङ्कल्पसहित पहलकदमी लिन जरूरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई अगाडि बढाएका छौँँ ।”

संयोजक दाहालले देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्न नेपालको इतिहासमा पहिलोपटक एकैसाथ २० वटा कम्युनिष्ट र समाजवादी घटकलाई एकताबद्ध गर्न सफल भइएको उल्लेख गरे । पार्टी एकताको प्रक्रिया दिनप्रतिदिन झन शक्तिका साथ अगाडि बढिरहेको छ । खाली घटक सङ्गठन मात्रै होइन देशलाई माया गर्ने थुप्रै व्यक्ति व्यक्तित्वहरू पनि जोडिरहेका छन् । अब एकताको उद्देश्य र जेनजी पुस्ताले अगाडि सारेको सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त देश बनाउन सबै प्रतिबद्ध भएर लाग्ने छौँ ।” उनले भने ।