इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् ।
यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ ।
देशको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाको ठूलो प्रभाव देखिएको छ । यहाँ डुबानले धेरै मानिसको ज्यान लिएको छ ।
पूर्वी पञ्जाब राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा दुई बालबालिकासहित पाँच जनाको ज्यान गएको तथ्यांक रहेको छ ।
भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रको जनजीवन प्रभावित भइरहेको छ ।
पाकिस्तानी मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि ठूलो वर्षा भएका कारण उक्त भेगमा संकट उत्पन्न भएको हो ।
अन्य मुलुकहरु कोरोनाबाट प्रभावित भइरहेका बेला पाकिस्तानमा भने प्राकृतिक प्रकोपले ठूलो संख्यामा मानिसको ज्यान लिएको हो ।