काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ । त्यसमध्ये इटाली र इरानको संख्या ठूलो छ। संक्रमित रहेको तुलनामा चीनमा भने कम मात्र मानिस मरेका छन् ।
आइतबार मात्र थप ४ हजारमा यसको संक्रमण देखिएको छ । तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ३० पुगेको छ।
संक्रमितको संख्या १ लाख १० हजार ६६ पुगेको छ। हालसम्म ६२ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किएको तथ्यांक छ ।
आइतबार स्पेनमा सात र चीनमा २२ जनाको ज्यान गएको बताइएको छ । कोरोनाले हालसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ पुगेको छ।
इटलीमा ३ सय ६६, इरानमा १ सय ९४, फ्रान्समा १९, अमेरिकामा २२, दक्षिण कोरियामा ५० तथा स्पेनमा १७ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।
इटालीमा आइतबार मात्र १ हजार ४ सय ९२ संक्रमित थपिएका छन् । यो भाइरसको संक्रमण १ सय ८ देशमा फैलिइसकेको छ।
नेपालमा भने एक जनामा देखिएको भएपनि उनी उपचार पछि निको भएर घर फर्किसकेका छन् ।