न्युयोर्क
आर्जन डायनामिक्सले यस पटक श्रृङ्गारिक रसमा लयबद्द गरिएको “मिर्मिरेमा देखें एउटा रुप” बोलको गीत तथा भिडियो युट्युब मार्फत सार्वजनिक गरेको छ । प्रस्तुत गीत साहित्यकार तथा गीतकार अर्चना धाख्वाले लेखेकी हुन् । गीतकार धाख्वाले यसअघि पनि थुप्रै बालगीत तथा अन्य रसका गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् ।
संगीतकर्मी ओम कर्माचार्यको स्वर र संगीतमा तयार पारिएको गीतको रेकर्डिङ तथा छायाँङ्कन अमेरिकाको न्युयोर्कमा गरिएको हो । ॐ मेगा अडियो एण्ड भिडियो प्रडक्शनद्वारा तयार पारेको म्युजिक भिडियोमा योगेश आदी र लक्ष्मी भट्टलाई गीतको भावअनुरुप प्रस्तुत गरिएको छ ।
गीतकार अर्चना धाख्वाको प्रस्तुत गीतलाई निकट भविष्यमा नै हिन्दी भाषामा पनि स्वराङ्कन र छायांकन गरिने निर्माण पक्षले जनाएको छ । आर्जन डायनामिक्सले यसअघि पनि धेरै गीत तथा कितावहरु समेत सार्वजनिक गराइसकेको छ ।